२६ भदौ, काठमाडौं । संविधान सभा अध्यक्ष समेत रहेका एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री सुदन किराँतीले जानकारी दिए। अन्त्येष्टिका दिननै सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ।
काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा सोमबार राति नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।
संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थिव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए। नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ ।
०५४ सालमा एमालेका केन्द्रीय कमिटी सदस्य भएका नेम्वाङ २०७८ मंसिरमा चितवनको सौराहमा भएको पार्टीको दशौं महाधिवशेनबाट उपाध्यक्ष चयन भएका थिए। एमालेका धेरै नेताहरू उनको अभिभावकीय भूमिकाको स्मरण गर्छन्।
नेम्वाङका दुबै छोरा विदेशमा भएकाले उनको अन्तिम संस्कार बुधबार अपराह्नमात्रै गरिने एमालेले जनाएको छ।