समाचार

सहपाठी नेम्वाङको निधनमा भावुक बने खनाल

२६ भाद्र २०८०, मंगलवार ०४:२५
सहपाठी नेम्वाङको निधनमा भावुक बने खनाल

२६ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधनप्रति पूर्व प्रधानमन्त्री झलनाथ खनालले गहिरो शोक व्यक्त गरेका छन् ।

शोक वक्तव्य निकाल्दै उनले नेम्वाङ आफ्नो सातौं कक्षादेखिको सहपाठी भएको स्मरण गरेका छन् । माध्यमिक शिक्षा सँगसँगै अध्ययन गरेको, त्रिचन्द्र कलेजमा आईएससीसँगै पढेको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गरेको स्मरण गर्दै उनले नेम्वाङसँगको सम्बन्ध उल्लेख गरेका छन् ।

‘संविधान सभाका अध्यक्ष,नेकपा (एमाले) पार्टीका उपाध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य कमरेड सुवासचन्द्र नेम्बाङको आज बिहान हृदयघात भएर असामयिक निधन भएको खबरले  मलाई स्तब्ध बनाएको छ । यस दुखद घडीमा सर्वप्रथम म भद्र नेता कमरेड सुवासचन्द्र नेम्वाङ प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु’, उनले भनेका छन् ।

एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका खनालले भनेका छन्– ‘सुवासचन्द्र नेम्बाङ एउटा सरल स्वभावको मृदु भाषी नेता हुनुहुन्थ्यो । वहाँ एउटा कुशल सांसद हुनुहुन्थ्यो । निकै लामो समय वहाँले सभामुख भएर संसद् परिचालनमा पनि महत्त्वपूर्ण योगदान दिनुभयो । संविधानसभा अध्यक्ष भएर आजको संविधान निर्माण गर्ने काममा पनि वहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । ‘

jn

प्रतिक्रिया दिनुहोस्