समाचार

माधव नेपालद्वारा सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त

२६ भाद्र २०८०, मंगलवार ०२:०७
माधव नेपालद्वारा सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त

२६ भदौ,काठमाडौँनेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा मंगलबार बिहान पुगेर अध्यक्ष नेपालले नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

त्यस्तै अध्यक्ष नेपालले आफूसँग लामो राजनीतिक सहकार्य गरेका नेम्वाङको निधनले आफूलाई स्तब्ध भएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले लेखेका छन्, ‘संविधानसभाका अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष, प्रतिनिधिसभाका सदस्य एवम् मसँग लामो राजनीतिक सहकार्य गर्नभएका कमरेड सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनायो ।’

एक निडर र इमान्दार राजनीतिकर्मीका रूपमा रूपमा विद्यार्थी राजनीति हुँदै कोअर्डिनेशन केन्द्र, नेकपा (माले) र नेकपा (एमाले) पार्टी निर्माण एवम् विस्तारमा उनले लिएको पहलकदमी, खेलेको भूमिका, दिएको योगदान, नेतृत्व र समन्वयका अनेकन पहलहरू आफ्नो मानसपटलमा ताजै रहेको नेपालले उल्लेख गरेका छन् ।

‘केवल पार्टी निर्माणमा मात्र नभई व्यवस्था परिवर्तन, समाजको रूपान्तरण, संविधानको रक्षा र विधिको शासन स्थापना गर्दै नेपाललाई समुन्नत राष्ट्र बनाउन सकिन्छ भन्ने मान्यतासहित सिंगो जीवन नै संघर्षमा होम्नुभएका कमरेड नेम्वाङसँग राजनीतिक र सामाजिक जीवनका अनेकौं सहज एवम् असहज परिस्थितिमा भएका सहकार्यहरू सम्झिएको छु र उहाँको भूमिक प्रति उच्च सम्मान प्रकट गर्दछु,’ उनले लेखेका छन्, ‘कमरेड नेम्वाङको पार्थिक शरीर भएको स्थान त्रि.वि. शिक्षण अस्पताल र उहाँको निवासमा पुगेर परिवारजनलाई भेटेर भर्खर फर्किँदै छु, जन्मपछि मुत्यु सत्य भए पनि अकस्मात र अकल्पनीय रूपमा भएको निधनलाई देखेर भारी मनसहित लेख्दैछु ‘हार्दिक श्रद्धान्जली कमरेड सुवास ! शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना !’

प्रतिक्रिया दिनुहोस्