समाचार

भोलि देखि नेपालमा टाटा टियागो ईभीको बुकिङ खुल्ने

२५ भाद्र २०८०, सोमबार ०५:४४
भोलि देखि नेपालमा टाटा टियागो ईभीको बुकिङ खुल्ने

२५ भदौ,काठमाडौं । टाटा मोटर्सले उत्पादन गरेको विद्युतीय कार टियागो ईभीको नेपालमा बुकिङ खुलेको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले प्रतिक्षित विद्युतीय ह्याचब्याक कारको बुकिङ खुलाएको हो।

टाटा मोटर्सले भारतीय बजारमा टियागो ईभी २०२२ को सेप्टेम्बर २८ मा सार्वजनिक गरेको थियो। तर २०२३ जनवरीबाट मात्र टियागो ईभी उपभोक्तालाई हस्तान्तरण सुरु भएको थियो। भारतमा सार्वजनिक भएको एक वर्षपछि सिप्रदीले टियागो ईभी नेपाल ल्याएको हो।

शुक्रबारबाटै टियागो ईभीको बुकिङ खुला गरिएको सिप्रदी स्रोतले जनाएको छ। टियागो ईभी बुकिङका लागि सिप्रदीको वेवसाइट वा सिप्रदीको शोरुमबाट बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। विद्युतीय कारप्रति चासो राख्ने धेरैले टियागो ईभी कहिले नेपाल आउँछ भन्ने बारेमा जिज्ञासा राख्दै आएका थिए। सिप्रदीले बुकिङ खुलाएसँगै टियागो ईभी बारेको जिज्ञासा सम्बोधन भएको छ।

बुकिङ खुला गरेपनि सिप्रदीले टियागो ईभीको औपचारिक सार्वजनिक नाडा अटो शोमा गर्ने जनाएको छ। नाडा अटो शो २०२३ यही भदौ २६ गतेदखि सुरु हुँदै छ। अटो शोको पहिलो दिन नै सिप्रदीले टियागो ईभी सार्वजनिक गर्नेछ।

टियागो ईभी दुई ब्याट्री प्याक अप्सनमा उपलब्ध रहेको छ। १९.२ किलोवाट आवर र २४ किलोवाट आवर ब्याट्री प्याकमा भारतमा उत्पादन भइरहेकाले सिप्रदीले दुवै वा एक ब्याट्री प्याक अप्सनमा ल्याउने छ। १९.२ किलोवाट आवर ब्याट्री प्याकयुक्त टियागो ईभीले २ सय ५० किलोमिटर र २४ किलोवाट आवर ब्याट्रीयुक्त टियागो ईभीले ३ सय १५ किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ।

सिप्रदीले टियागो ईभी ४ कलर अप्सनमा उपलब्ध गराउने छ। टियागो ईभी बुकिङ गर्ने उपभोक्ताले सेप्टेम्बर अन्त्यबाटै कार पाउने कम्पनी स्रोतले जानकारी दियो।

टाटा मोटर्सले भारतमा ४ महिनामै १० हजार वटा उपभोक्तालाई हस्तारन्तरण गरेको थियो। सार्वजनिक भएको ४ महिनामा १० हजार वटा बिक्री हुने टियागो ईभी नै पहिलो कार भएको टाटा मोटर्सको भनाइ छ।

टाटा मोटर्सले बुकिङ खुला गरेको २४ घण्टामा टियागो ईभी १० हजार वटा बुकिङ भएको थियो। टियागो ईभी भारतका ४ सय ९१ सहरमा पुगेको र बिक्री भएका १० हजार कारले १ करोड १२ लाख किलोमिटर यात्रा तय गरेको छ। त्यस्तै यो यात्रामा १६ लाख ग्राम सीओटू उत्सर्जन बचत भएको छ।

टाटाले हाल भारतीय बजारमा नेक्सन ईभी, नेक्सन ईभी म्याक्स, टिगोर ईभी र टियागो ईभी बिक्री गर्दै आएको छ। टाटाले आगामी ५ वर्षमा १० वटा विद्युतीय सवारी बजारमा ल्याइसक्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्