२५ भदौ,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ ।
भन्सारमा कार्यरत कर्मचारीले सामूहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनुवाईनभए पछि आजबाट भन्सार ठप्प पार्न लागेका हुन ।
सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँच पास शाखामार्फत हुने निकासी, पैठारी संबन्धी सम्पूर्ण कार्य बन्द गर्ने भएका हुन् । आज पनि माग सम्बोधन नभए भोलि पनि कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा गरिएकाे छ ।
उनीहरुले आइतबार तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध सुरु गरेका थिए । भदौ २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने विमानस्थलका कर्मचारीले अग्रिम जानकारी गराएका छन् ।
६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरू धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरूको आरोप छ । जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए । तर, आफ्नो माग दुई साता लागिसक्दा पनि सुनुवाई नभए पछि आइतवारबाट उनीहरु आन्दोलनमा उत्रेका हुन ।