समाचार

नेताहरूसँग प्रधानमन्त्रीले भने– चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ

२४ भाद्र २०८०, आईतवार ०८:०६
नेताहरूसँग प्रधानमन्त्रीले भने– चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ

२४ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमणका विषयमा राजनीतिक दलहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आज आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले भ्रमणबारेमा जानकारी गराउँदै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

बैठकमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, पूर्वपरराष्ट्रमन्त्रीलगायतका राजनीतिक नेताहरू थिए । आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, परराष्ट्रमन्त्री एन.पी. साउद, नेताहरू महन्त ठाकुर, सीके राउत, चित्रबहादुर केसी, प्रेम सुवाल, पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे, डा. प्रकाशचन्द्र लोहनी, प्रदीपकुमार ज्ञवाली, डा. बिमला पौडेल राई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौडेल लगायत सहभागी थिए ।

छलफलमा बोल्दै प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिए। त्यसका लागि आवश्यक गृहकार्य गरिएको उनको भनाइ थियो। “यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो। यहाँ तपाईँहरूले जुन सुझावहरू दिनुभएको छ। ती महत्वपूर्ण छन्,” प्रधानमन्त्री दाहालले भने, “यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ। भ्रमण फलदायी र प्रभावकारी हुन्छ।”

सरकारले दुवै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रस्ट्याउँदै प्रधानमन्त्री दाहालले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको उल्लेख गरे। संयुक्त राष्ट्र संघको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपालजस्ता मुलुकलाई पारेको असर, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नेपालले खेलिरहेको भूमिकालगायत विषयमा जानकारी गराउने र संयुक्त प्रयासका निम्ति अपिल गर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्