समाचार

प्रधानमन्त्री दाहाल अराजक भइसके, कांग्रेसकै नेतृत्वमा सरकार बन्न जरुरी : शेखर कोइराला

२३ भाद्र २०८०, शनिबार १४:१२
प्रधानमन्त्री दाहाल अराजक भइसके, कांग्रेसकै नेतृत्वमा सरकार बन्न जरुरी : शेखर कोइराला

२३ भदौ, चितवन।  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आदिवासी जनजाति दिवसमा प्रधानमन्त्री दाहालले गरेको भाषणको विषयमा आपत्ति जनाएका छन् ।

भरतपुरमा शनिबार आयोजित नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलन उद्घाटन गर्दै नेता कोइरलाले आदिवासी जनजाति दिवसमा प्रधानमन्त्री दाहालको भाषणको विषयमा आपत्ति जनाएका हुन् । ‘उहाँ पार्टीको नेताको हैसियतमा बोलेको त हैन । नेताको हैसियतमा बोले मेरो आपत्ति हुने थिएन । तर प्रधानमन्त्री त्यसरी बोल्नु गैर जिम्मेवारी हो,’ कोइरालाले भने ।

नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलनलाई शनिवार भरतपुरमा सम्बोधन गर्दै डा.कोइरालाले कांग्रेसका ९ जना मन्त्री यो सरकारमा भए पनि प्रधानमन्त्री नै निर्णायक हुने भएकाले अहिलेको संकट यो सरकारबाट पार नलाग्ने बताए ।

कोइरालाले कतिपय ठाउँमा जातीय र धार्मिक दङ्गा मच्चिन थालेको र यसमा प्रधानमन्त्रीले समेत जातीय राज्यको वकालत गरेर भड्काएको कोइरालाले बताए । उनले अब कांग्रेसको नेतृत्वमा सरकार हुन जरुरी रहेको बताए ।

संसदीय प्रणालीमा प्रधानमन्त्रीबाहेक कसैको निर्णयले काम नगर्ने भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्न जरूरी रहेको र त्यसपछि मात्र कांग्रेस अगाडि बढ्ने उनले बताए ।

नेता कोइरालाले अहिलेको निर्वाचन पद्धति पनि बदल्न छलफल सुरू गर्नु पर्ने र आउँदो निर्वाचनअघि नै निष्कर्षमा पुग्नुपर्ने धारणा राखे ।

कोइरालाले समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी मिश्रित निर्वााचन प्रणालीलाई बदलेर प्रत्यक्ष निर्वाचित प्रणालीमात्र राख्न राम्रो हुने बताए । मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत नआउने र खिचडी सरकारमात्र बनिरहने उनको भनाइ थियो । प्रत्यक्षतर्फ अहिले कायम १६५ सिट संख्या बढाएर संविधानसभाको जस्तै २४० बनाउन सकिने उनले बताए ।

‘यो ७५ सिट महिला र दलितका लागि आरक्षित गरौं । आदिवासी अल्पसंख्यकका लागि समानुपातिक तरिकाले राष्ट्रिय सभा गठन गरौं । यो बारेमा संविधान संशोधन गर्न बहस चलाऔं । मलाई लाग्छ एमालेले मान्ला । माओवादी र अन्यले नमान्लान् पनि । तर बहस गर्दै गएपछि आउँदो निर्वाचनसम्म एउटा निर्णयमा पुग्न सकिन्छ,’ नेता कोइरालाले भने ।

प्रतिक्रिया दिनुहोस्