समाचार

बैठक चल्ने संकेत नदेखेपछि बागमतीमा सभामुखले बोलाए सर्वदलीय बैठक

२३ भाद्र २०८०, शनिबार १३:५८
बैठक चल्ने संकेत नदेखेपछि बागमतीमा सभामुखले बोलाए सर्वदलीय बैठक

२३ भदौ,  मकवानपुर । बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ ।

दुई महिनापछि भदौ १८ गते बोलाइएको प्रदेश सभा बैठक एमालेसहितका विपक्षी दलको चेतावनीपछि भदौ २४ गते आइतबारका लागि बोलाइएको छ।

तर, आइतबारको बैठक पनि सञ्चालन हुने अवस्था नदेखेपछि सभामुख पाठकले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिका लागि सर्वदलीय बैठक बोलाइएको स्रोतको दाबी छ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्। सभामुख पाठकले लामो समयपछि बस्न लागेको बैठक निरन्तर सञ्चालन हुन नसके गलत सन्देश जाने भएकाले सदन सञ्चालनका लागि सर्वदलीय बैठक बोलाएको जानकारी दिए।

उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका तर्फबाट दलका नेता, सचेतक तथा प्रतिनिधिहरूलाई उपस्थित हुन सूचना पठाएको सचिवालयले जनाएको छ ।

आर्थिक विधेयक पारित भएपछि बैठक बस्न सकेको छैन। अहिले पनि बस्न लागेको बैठक सारिरहनुपर्‍यो भने गलत सन्देश जान्छ। त्यसकारण आइतबारको बैठक नरोकियोस् भन्ने उद्देश्यले सर्वदलीय बैठक बोलाएको हुँ,’ उनले भने। सभामुख पाठकले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूका तर्फबाट दलका नेता, सचेतक तथा प्रतिनिधिहरूलाई उपस्थित हुन आग्रह गरेको जानकारी दिए।

उनले आइतबारको सर्वदलीय बैठकबाट सहमति जुट्न सकेको अवस्थामा भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सञ्चालन हुने बताए। असार २२ गतेपछि प्रदेश सभा बैठक बस्न सकेको छैन।

भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेश सभा बैठक पनि सरकार र विपक्षी दलहरूबीच सहमति हुन नसकेपछि तीनपटक स्थगित भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्