समाचार

जनताको आक्रोश र असन्तुष्टिलाई हिंसामा बदल्ने प्रयत्न भइरहेको छ : मुख्यमन्त्री पाण्डे

२३ भाद्र २०८०, शनिबार ०९:१५
जनताको आक्रोश र असन्तुष्टिलाई हिंसामा बदल्ने प्रयत्न भइरहेको छ : मुख्यमन्त्री पाण्डे

२३ भदौ, काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक समृद्धिको नयाँ सम्भावनाको ढोका खोल्न सरकार प्रयासरत रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको नवनिर्मित भवनको आज उद्‌घाटन गर्दै उनले प्रदेश सरकार सकारात्मक सोचका साथ इमान्दारितापूर्वक विकास र समृद्धिको दिशामा अघि बढिरहेको बताए ।

“गण्डकी प्रदेशभित्रका सबै क्षेत्रमा समानुपातिक ढङ्गबाट विकास अगाडि बढाउन सकियोस् भन्ने प्रदेश सरकारको चाहना छ”, उनले भने, “त्यसका लागि आर्थिक समृद्धिको नयाँ सम्भावना खोल्न सकियोस् भन्ने कुरामा सरकारले सकारात्मक र इमान्दारितापूर्वक प्रत्यत्न गरिरहेको छ ।”

नेपाली समाजमा पछिल्लो समय राजनीतिक दल र सरकारप्रति केही असन्तुष्टि र आक्रोश देखिएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले त्यसलाई सबै क्षेत्र मिलेर समाधान गर्नुपर्नेमा जोड दिए । “समाजमा देखिएका असन्तुष्टि र आक्रोशलाई सरकारले सम्बोधन गर्नुपर्ने आवश्यकता छ”, उनले भने, “हाम्रा सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गरेर मुलुकमै बसेर केही गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्छ, त्यसतर्फ हामी सबैको सकारात्मक र जिम्मेवारीपूर्ण भूमिकाको आवश्यकता छ ।”

मुख्यमन्त्री पाण्डेले जनताको आक्रोश र असन्तुष्टिलाई हिंसामा बदल्ने प्रयत्न भइरहेकाले सबै मिलेर समस्यालाई समयमै नियन्त्रण गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्