२३ भदौ, काठमाडौँ।सर्वोच्च अदालतको परमादेशपछि कोशी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतबहादुर कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
शुक्रबार नै उनले मुख्यमन्त्रीकाे शपथ लिएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ गराएका हुन्। गत भदौ ४ मा निवर्तमान मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै सर्वोच्चले बिहीबार संविधानको धारा १६८ (३) अनुसारको सरकार गठनका लागि परमादेश जारी गरेको थियो।
कार्की दोस्रो पटक सत्तामा फर्किएका हुन्। यसअघि सरकारमै सहभागी दलहरू जसपा र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत गुमाएका थिए। एक मत नपुगेपछि उनले सत्ता गुमाएका थिए।
मुख्यमन्त्री कार्कीले शुक्रबार नै पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । एमालेकै प्रदेश सभा सदस्य तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पाँचकर्ण राई र राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त भएका छन्।
मेन्याङ्बोलाई खानेपानी, सिँचाइ तथा ऊर्जा र स्वास्थ्य, कार्कीलाई भौतिक पूर्वाधार विकास, राईलाई वन वातावरण तथा पर्यटन र उद्योग, भूमि व्यवस्था तथा कृषि मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालय आफूसँगै राखेका छन् ।
राप्रपा तत्काल सरकारमा सहभागी नहुने
निर्वाचनलगत्तै एमालेको सत्ता सहयात्री रहेको राप्रपा भने यस पटक सरकारमा सहभागी भएन ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएपछि मात्र सरकारमा सहभागी हुने भन्दै राप्रपाले जवाफ दिएपछि मुख्यमन्त्री कार्कीले एमालेका मात्र मन्त्री बनाए। राप्रपाका प्रमुख सचेतक अमरबहादुर विष्टले राप्रपा तत्काल सरकारमा नजाने बताए। सरकार कति समय टिक्छ थाहा छैन त्यसैले यसको निर्णय भएर स्थायी हुने भएमात्र आफूहरु सरकारमा सहभागी हुने उनकाे भनाइ रहेकाे छ।
तर एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले केही समयपछि राप्रपासहितका अन्य दल सरकारमा आउने दाबी गरे।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन्। उनले सरकारले तोकिएको समयमा विश्वासको मत प्राप्त गर्ने पनि दाबी गरेका छन्।
मुख्यमन्त्री पदको शपथ लिएपछि शुक्रबार साँझ प्रदेश प्रमुखको कार्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले सबै दल एवं जनताको चाहना मध्यावधि निर्वाचन आवश्यक छैन भन्ने रहेकाले आगामी ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्ने दाबी गरे ।
उनले वर्तमान सरकारले विश्वासको मत प्राप्त गरी अगाडि बढ्ने र त्यसको विकल्प नरहेको बताए। मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) लगायतका पार्टीले सरकारमा सहभागी भएर वा बाहिरबाट आफ्नो सरकारलाई समर्थन गर्ने विश्वास व्यक्त गरे।
उनले सबै दलको सहभागितामा सर्वदलीय सरकार निर्माण गर्ने कार्यमा पहल गर्ने बताए। वर्तमान सरकार एक महिना नभई चार वर्ष सञ्चालन हुने दाबी उनले गरे।