२२ भदौ, हेटौंडा । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वबारे विभिन्न अड्कलबाजी पनि सुरू भएका छन् । प्रदेशको कमाण्ड सम्हाल्न नेताहरूबीच आन्तरिक रस्साकस्सी सुरू हुन थालेको हो ।
आगामी असोज ८ र ९ गते नेकपा एमालेको बागमती प्रदेश कमिटिको पहिलो अधिवेशन हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदेश कमिटिको पहिलो अधिवेशनको आधिकारिक लोगो तयार गरी प्रचार प्रसारको काममा पार्टी कमिटि अघि बढेको छ ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी ५ पदाधिकारीसहित नयाँ कमिटी बनाउनेछ । सहमति प्रयास गर्दा पनि लुम्बिनिमा अध्यक्षसहितका केही पदाधिकारीको टुंगो मतदानबाट लाग्यो । यहाँ पनि आकांक्षीको दाबी हेर्दा चुनावको सम्भावना बढेको नेताहरू बताउँछन् ।
प्रदेश अध्यक्षको लागि हालसम्म आधा दर्जन बढी नेताले इच्छा देखाएका छन् । प्रदेश अध्यक्ष कार्यकारी भूमिकामा रहने र पोलिटब्युरो सरहको हैसियत हुने भएको कारण पनि उक्त पद हत्याउन केन्द्रीय सदस्य पनि दाबेदार देखिन्छन् ।
एमालेका एक नेताका अनुसार प्रदेश अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केशव पाण्डे सहित पोलिटब्युरो सदस्य महेश बस्नेत, अरुण नेपाल, धादिङका खेम लोहनी, रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल, चितवनका कृष्णभक्त पोखरेल, विजय सुवेदी र दोलखाकी रचना खड्का लगायतकाको नाम चर्चामा छ । कार्यकारी पद रहेकाले पार्टीको माथिल्लो तहका नेताहरुले समेत सो पदमा चासो व्यक्त गरेका छन् ।
एमाले बागमती प्रदेश कमिटिका उपसचिव महेश बर्तौलाका अनुसार अधिवेशनका लागि भदौ २७ गतेभित्र प्रतिनिधि चयनको कार्यतालिका रहेको छ । प्रदेशको ११९ वटा पालिकामा एकैपटक प्रतिनिधि चयन गर्ने कार्यक्रम रहेको उनले बताए ।
१ लाख ७हजारको संगठिन सदस्य रहेको बागमतीमा प्रदेश अधिवेशनका लागि १२०० भन्दा बढी अधिवेशन प्रतिनिधि चयन हुने उपसचिव बर्तौलाले बताए । जसमा एक तिहाई महिला प्रतिनिधि तथा ४० वर्ष भन्दा कम उमेरका युवाहरुको प्रतिनिधित्व १० प्रतिशत अनिवार्य गरिएको छ ।
प्रदेश कमिटिमा बहाल रहेका सदस्यहरुले प्रतिनिधि बन्न चाहेमा सम्बन्धित भूगोलबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था रहेको छ भने ५० जना संगठित दलित सदस्य बराबर १÷१ जना प्रतिनिधि चयन हुने व्यवस्था रहेको छ । साथै, पेशागत महासंघहरुबाट पनि अधिवेशनमा प्रतिनिधि चयन हुने व्यवस्था रहेको छ ।