समाचार

सभागृहमा राखियो वडाअध्यक्ष रिजालको पार्थिव शरीर

२१ भाद्र २०८०, बिहीबार ०७:१३
सभागृहमा राखियो वडाअध्यक्ष रिजालको पार्थिव शरीर

२१ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जालीका लागि राष्ट्रिय सभागृहमा राखिएको छ।

दिउँसो साढे २ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ। रिजाललाई श्रद्धाञ्जली दिन काठमाडौं महानगरका मेयर बालेन शाह, अर्थमन्त्री प्रकाशशरण महत, कांग्रेस महामन्त्री गगन थापालगायतका नेताहरू सभागृह पुगेका छन्।

रिजालको बिहीबार बिहान ७:३० बजे उपचारका क्रममा ग्रान्डी अस्पतालमा निधन भएको हो। नेपाली कांग्रेस काठमाडौं-७ का क्षेत्रिय सभापति समेत रहेका रिजाललाई उच्च ज्वरो र निमोनियाँ देखिएपछि गत आइतबार अस्पताल लगिएको थियो। ५ दिनको उपचार अवधिमध्ये २ दिन आइसीयू र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

उपचारका क्रममा बिहीबार बिहान उनको निमोनियाका कारण निधन भएको हो। नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्