समाचार

एनआरएनएलाई नेपाली नागरिकता लिने बाटो खुला

२० भाद्र २०८०, बुधबार ०३:२९
एनआरएनएलाई नेपाली नागरिकता लिने बाटो खुला

२० भदौ,काठमाडौं । गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली सरकारले स्वीकृत गरेको छ ।

एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित गरेकाले एनआरएनले पनि नागरिकता पाउने बाटो खुलेको हो । नागरिकता सम्बन्धी संधोधित ऐन गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पनि नियमावली बनेको थिएन ।

नागरिकता सम्बन्धी संधोधित ऐन गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पनि नियमावली बनेको थिएन । तर १२ भदौमै बसेको मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेको स्रोतले जनायो । यद्यपि यसको औपचारिक जानकारी सरकारले सार्वजनिक गरेको छैन ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै नागरिकता ऐन, २०६३ संशोधन भएको थियो । ऐन जारी भएलगत्तै ०७२ भन्दा अघि जन्मका आधारमा नेपालमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने विषय कार्यान्वयनमा गए पनि नियमावली नहुँदा अन्य नयाँ प्रावधान भने रोकिएका थिए ।

नियमावली आएसँगै अन्य प्रावधान कार्यान्वयनका लागि पनि अब बाटो खुलेको छ । ‘मन्त्रिपरिषद्बाट नागरिकता नियमावली स्वीकृत भयो भन्ने सुनेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘अब यसलाई कार्यान्वयनमा लैजान्छौँ ।’

ऐनको दफा ७ मा गैरआवासीय नेपालीलाई नागरिकतासम्बन्धी प्रावधान छ । ऐनको ७ (क) १ मा भनिएको छ, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्यराष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने’ ऐनमा प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्