२० भदौ, चितवन । पुर्खौँदेखि खोला र वनजङ्गलको भरमा जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छन् ।
चितवनको माडी नगरपालिका–१ वनकट्टामा रहेका बोटे समुदायका एक सय आठ परिवार अहिले खोला र वनजङ्गलको विकल्पको खोजीमा जुटेका हुन् ।खोलानाला र वनजङ्गलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनु परेपछि उनीहरुले वैकल्पिक पेसाको सुरुआत गरेका छन् ।
वैकल्पिक पेसाको रूपमा यहाँका बोटे समुदायले होमस्टे (घरबास) सञ्चालन गर्ने र सामुदायिक माछापोखरी निर्माणजस्ता काममा जुटेका छन् । उनीहरूले २०७७ देखि १० वटा बोटे होमस्टे (घरबास) र चार सामुदायिक माछापोखरी बनाएका छन् । अगुवा जगनारायण बोटे पहिला दैनिकी चलाउनका लागि माछा मार्न जानुपर्ने भए पनि अहिले त्यस्तो नरहेको बताउछन्।
उनले भने, “अहिले पहिलाको जस्तो वनजङ्गल र खोलामा आश्रित हुनुपरेको छैन ।” कहिलेकाहीँ रहरले माछा मार्न खोलामा जाने गरेको भए पनि पहिलेको जस्तो अवस्था अहिले नरहेको बोटेले बताए । होमस्टे सञ्चालनमा आएसँगै वार्षिक खर्च कटाएर रु ६०–७० हजार कमाइ हुँदै आएको उनले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जले २०७२ सालमा निकुञ्ज र ताल कार्यक्रमसँग मिलेर माडीका ती समुदायलाई माछापालन तथा होमस्टे सञ्चालनका लागि तालिम दिएको थियो । तालिमपछि यो समुदायले बोटे परिकार खुवाउनका लागि होमस्टे सञ्चालन गरेको लालुमाया बोटे बताउछिन्। जङ्गल र खोलानालामा धेरै जाने जाति भनेर चिनिएको यस समुदायमा अहिले मुहार फेरिन थालेको उनले बताइन् । उनले भनिन्, “पहिला हामी छ महिना खेतीपाती गरेर खाए छ महिना जङ्गल र खोलानालामा गएर गुजरा चलाउनुपथ्र्यो । होमस्टे सञ्चालनमा आएसँगै त्यो समस्या हटेको छ ।” अहिले होमस्टेमा आउने पाहुनाका लागि खुवाउन पोखरी निर्माण गरी माछापालन गरिरेहको उनले जानकारी दिइन् ।
बोटे सामुदायिक होमस्टेको नामबाट सञ्चालनमा ल्याइएका होमस्टेमा एकपटकमा ६० जनासम्म बस्न मिल्ने व्यवस्था छ । होमस्टे सञ्चालनमा आएसँगै पहिलाको जस्तो खोला र जङ्गलमा निर्भर हुनु नपरेको विका बोटे बताउछिन्। खोलानालामा र वनजङ्गलमा जाँदा वन्यजन्तुको आक्रमणबाट परिवार गुमाउनुभन्दा अर्को विकल्प खोज्नु उत्तम भएकाले होमस्टे सञ्चालनमा ल्याइएको उनको भनाइ छ । अहिले होमस्टे सञ्चालनमा ल्याएर गुजारा चलाउन थालेसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्वसमेत कम भएको बोटेले बताइन्। उनले भनिन्, “हामी भनेको वनजङ्गल र खोलानालाको पनि संरक्षण गर्ने जाति हो ।”