१९ भदौ,काठमाडौं । बहुचर्चित सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व उपराष्ट्रपति पुत्र दिपेश पुनसँग सोधपुछ गरेको छ ।
सीआईबीका अधिकारीहरूले पुनलाई कार्यालयमै बोलाएर सुन तस्करी प्रकरणमा बयान लिएका हुन् । अनुसन्धानको क्रममा सुन तस्करीमा मुछिएकाहरुसँग पुनको सम्पर्क देखिएपछि बयान लिइएको सीआईबीका स्रोतले जानकारी दिएको छ ।
सुन तस्करी प्रकरणमा उनको संलग्नता पुष्टी भएमा गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइने छ। हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको ६० किलो ७१६ ग्राम सुन गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।
उक्त सुन प्रकरणमा भन्सारका कर्मचारीको सहयोगमा नेपाल भित्र्याइएको पाइएको छ। केही कर्मचारीहरू पक्राउ पनि परिसकेका छन्।