१९ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न आफू तयार रहेको बताएका छन् ।
सोमबार नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका बालेनले मंगलबार बिहान सरकारले जग्गा उपलब्ध गराए रंगशाला बनाउन महानगरले पहल गर्ने प्रतिवद्धता जनाएका हुन् । सोमबार भएको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको थियो ।
नेपाल र भारतबिच श्रीलंकामा भएको म्याच प्रत्यक्ष हेरेका बालेनले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् । उनले सरकारले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला निर्माणमा काठमाडौं महानगरले पहल गर्ने पनि बताएका छन् ।
नेपाल-भारतको खेल भएको जत्तिको रंगशाला ८०-९० करोडमै बन्न सक्ने उनले बताएका छन् । ‘त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केही प्याराफिट र अलि बढी सुविधा । नेपालमा त्यही स्तरको रंगशाला जग्गाबाहेक ८०-९० करोडमा नै बन्छ सायद,’ फेसबुकमा उनले लेखेका छन्, ‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ ।’यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्ने उनको भनाइ छ । एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्ने उनले बताएका छन् ।