समाचार

भिजन लुम्बिनी उर्जाको पहिलो चरणको आजदेखि आईपीओ खुल्यो

१९ भाद्र २०८०, मंगलवार ०४:०५
भिजन लुम्बिनी उर्जाको पहिलो चरणको आजदेखि आईपीओ खुल्यो

१९ भदौ, ताप्लेजुङ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज भदौ १९ गतेदेखि आईपीओ निष्काशन खुल्ला गरेको छ।

कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १९ करोड १२ लाख २५ हजार रुपैयाँको आईपीओ निष्काशन गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका १९ लाख १२ हजार ५०० कित्ता सेयर बिक्री खुला गरिनेछ। त्यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख ९१ हजार २५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गर्ने छ ।

यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख २५ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो। यसआधारमा १ सय अंकित मूल्यमा १९ लाख १२ हजार ५ सय कित्ता सेयरमा स्थानीयले आवेदन दिन सक्नेछन्।

कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नम्बर १९ का स्थानीय बासिन्दालाई निष्कासन गरेको हो।

यता, कम्पनीको सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ९१ हजार २५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा असोज २ गतेसम्म आवेदन दिन पाउनेछन्। मागबमोजिम आवेदन नपरेको खण्डमा स्थानीयका लागि भने असोज १७ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।स्थानीयले माछापुच्छ्रे गाउँपालिकामा रहेको सेती नदी जलविद्युत आयोजनास्थल, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय र नेपाल फाइनान्सको माछापुच्छ्रे गाउँपालिकाको भुजुङखोला शाखाबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्