समाचार

जलस्रोत अनुसन्धान विकास केन्द्रका अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ भाद्र २०८०, सोमबार ११:४८
जलस्रोत अनुसन्धान विकास केन्द्रका अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ भदौ, काठमाडौंजलस्रोत अनुसन्धान विकास केन्द्र, पुल्चोक ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीविरुद्ध पदको दुरुपयोग गरी चार करोड ६७ लाख ३८ हजार ७८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५३ जेठ १७ देखि २०७९ मङ्सिर २८ गतेसम्मको जाँच अवधिमा समग्र आय र व्ययको विश्लेषण गर्दा सो रकम भ्रष्टाचार आरोप लागेको छ ।

अख्तियारले स्रोत नखुलेको सम्पत्तिलाई बिगो कायम गरी त्यति नै जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय माग दाबी गरेको छ । सम्पत्ति जफतका लागि अख्तियारले कार्कीकी पत्नी उर्मिला थापा कार्कीलाई समेत प्रतिवादी बनाइएको छ ।

तर अनुसन्धानका क्रममा कार्की उनको परिवारका नाममा ५ करोड ७५ लाख ८७ हजार ३ सय ७० रुपैयाँ भेटिएको अख्तियारले जनाएको छ । कार्कीले घर निर्माण, जग्गा खरिद तथा विभिन्न कम्पनीमा सेयर लगायतमा स्रोत नखुलेको सम्पत्ति जोडेको पनि भेटिएको थियो ।

सिर्जित आयबाट व्यय घटाउदा चार करोड ६७ लाख ३८ हजार ७८० विगो रकमसहित भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना जफतको मागदाबी लिइ सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्