समाचार

कांग्रेस महाधिवेशन : एक हजार ९९३ मत खस्यो

२७ मंसिर २०७८, सोमबार ११:२०
कांग्रेस महाधिवेशन : एक हजार ९९३ मत खस्यो

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा एक हजार ९९३ मत खसेको छ ।

मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ४ः३० बजेसम्म एक हजार ९९३ मत खसेको निर्वाचन समितिले जनाएको छ । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

कांग्रेसले मतदानका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा ६८६ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा एक हजार ३०७ मत खसेको छ ।

निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ । कांग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसाल्नुभएको थियो ।

एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्