समाचार

कोशी सरकारविरुद्धको रिटको आज पूर्ण इजलासमा सुनुवाइ हुने

१८ भाद्र २०८०, सोमबार ०५:३२
कोशी सरकारविरुद्धको रिटको आज पूर्ण इजलासमा सुनुवाइ हुने

१८ भदौ, काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मतसम्बन्धी विवादको रिटको पेसी सर्वोच्च अदालतको पूर्ण इजलासमा परेको छ।

 मुद्दाको पेसी न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा परेको हो।  यसअघि आइतबार न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले उक्त रिटलाई सुनुवाइका लागि पूर्ण (३ वा ३ भन्दा बढी न्यायाधीश सम्मेलित) इजालसमा सुनुवाइ गर्न आदेश दिएको थियो।

आइतबार कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मल्ल र सुष्मालता माथेको संयुक्त इजलासले रिट पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। सोही आदेशबमोजिम रिट सुनुवाइका लागि सर्वोच्चले  तीन सदस्यीय पूर्ण इजलास गठन गरेको हो।

इजलासमा आजदेखि निवेदनमा सुनुवाइ हुनेछ। कोसीमा मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।

शुक्रवार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो ।

उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाऊ आदेश जारी गरेका थिए । सभाध्यक्षले हालेको मतलाई सर्वोच्चले संविधानसम्मत् मान्न नसकिने भनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्