१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा रुपान्तरण अभियानकर्ताहरुले निर्वाचन क्षेत्र केन्द्रित राष्ट्रब्यापी अभियान घोषणा गरेका छन् ।
गत साउन १० मा सकिएको केन्द्रीय समिति बैठकले भदौ १० गतेदेखि भदौ २४ गतेसम्म राष्ट्रव्यापी अभियान चलाउने निर्णय गरेको कांग्रेसले तत्कालका लागि अभियान स्थगित गरेपछि रूपान्तरण पक्षधरले काठमाडौंमा बैठक गरेर निर्वाचन क्षेत्रकेन्द्रित राष्ट्रव्यापी अभियान गर्ने निर्णय गरेका हुन् ।
शेर बहादुर देउवाले पदाधिकारीहरुसँग छलफल गरी कार्यक्रम तत्कालका लागि स्थगित गरेका थिए । कांग्रेस रुपान्तरण अभियानकर्ताले भने शनिवार काठमाडौंमा बैठक बसी निर्वाचन क्षेत्र केन्द्रित राष्ट्रब्यापी अभियान चलाउने निर्णय गरेको थियो ।
‘पार्टीले गर्ने भनेको कार्यक्रम गरेको भए हामी उसैलाई साथ दिने थियौँ । तर, पार्टीले अभियान नै रोकेपछि रुपान्तरण अभियानले निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो,’ नेता जगदिश्वोर नर्सिङ्ग के.सी.ले भने, ‘पार्टीलाई थप गतिशील बनाउन र रुपान्तरण गर्नका लागि देशैभरको निर्वाचन क्षेत्रमा कार्यक्रम गर्न लागिएको छ ।’
उनले कांग्रेसको रुपान्तरण अभियानबाट प्रभावित भएर अन्य पार्टीले समेत सोही नाममा अभियान थालेको भन्दै आफूहरुले गरेको काम प्रभावकारी भएको बताए । त्यस्तै, अर्का नेता जगदीशनरसिंह केसीले पार्टीले पार्टीको आन्तरिक सुदृढीकरण अभियान कुनै पनि बहानामा नरोकिने बताए ।
कर्यक्रमका अभियन्ता नेताहरु गुरुराज घिमिरे, मधु आचार्य, भुपेन्द्र जङ्ग शाही र के.सी.लगायत छन् । रुपान्तरण अभियान बिपी जन्मजयन्तीदेखि गणेशमानसिंह जन्मजयन्तीसम्म यो अभियान चल्नेछ । निर्वाचन केन्द्रित रुपान्तरण अभियान कार्यक्रम भदौ २४ गते काभ्रे क्षेत्र नम्बर २ बाट सुरु हुन केसीले बताए । पार्टी सभापतिले विधि विधानअनुसार पार्टी नचलाएकोले रुपान्तरण पक्षले विभिन्न कार्यक्रमहरु गर्दै आएका छ । नेता शेखर काइराला र महामन्त्री गगन थापानिकट नेताहरुले रुपान्तरण कार्यक्रमअन्तर्गत नेता, कार्यकर्तासँग बहस तथा छलफल चलाउदै आएका छन् ।