१७ भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
जारी एमाले प्रथम लुम्बिनी अधिवेशनमा दुई जनाले उम्मेदवारी दर्ता गराएका हुन् । एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय कमिटी सदस्य हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन् । कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् । यस्तै रिजालको प्रस्तावकमा विजयबिराज विष्ट र समर्थकमा बाला सिंह काउछा छन् ।
यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रलाई सम्बोधन गर्दै सहमति गर्न आग्रह गरेको भए पनि अध्यक्षका आकांक्षीहरू कँडेल र रिजालले एक आपसमा सहमति गर्न नमानेपछि निर्वाचनबाट नेतृत्व चयन गर्ने अवस्था आएको हो ।
प्रमुख निर्वाचन आयुक्त हरि भण्डारीले आइतबार राति ८ बजेदेखि निर्वाचन प्रक्रियाको काम स्थगित गरी सोमबार बिहान १० बजेसम्म मनोनयनको समय थप गरिएको जानकारी दिए ।
अध्यक्षलगायत उपाध्यक्ष, सचीव, उपसचिव सदस्य सबै पदमा आवस्यक संख्याभन्दा धेरैको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।