१७ भदौ, विराटनगर । ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ सुरु भएको नेकपा माओवादी केन्द्रको तीन महिने अभियानमा मोरङ, बेलबारी–३ को जिम्मा पाएका छन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ।
‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानमा मोरङ बेलबारी नगरपालिका– ३ मा खटिएका उनले लिखित प्रश्नसहित सुझाव संकलन गरेका हुन् ।
जनताबाट सुझाव संकलन गर्नका लागि तीन प्रश्न समेटिएको ‘सुझाव पत्र’ वितरण गरिएको उनले उनले बताए । ‘चुनावको बेला हामीले भोट दिनुहोस्, सरकारमा पुगेर सेवा गर्छौ भनेका थियौ,’ उनले भनेका छन्,‘तपाईहरुले भोट दिनुभयो, हामी सरकारमा पुगेका छौं, अब तपाईहरुले भन्नुपर्यो, लिखित रुपमा भन्नुपर्यो हामीले के गर्नुपर्छ ? सरकारले के गर्नु पर्छ ? हामी तपाईहरुको सुझाव अनुसार नै काम गर्ने छौं ।’
‘भ्रष्टाचार विरुद्धको अभियानको राम्रो पक्ष र कमीकमजोरी के देख्नुभएको छ ? अब कसरी काम गर्दा राम्रो होला ?’ भन्दै मन्त्री किरातीले सुझाव दिनका लागि जनतालाई प्रश्नसहितको सुझाव पत्र वितरण गरेका छन् ।
मन्त्री किरातीले सुझाव संकलनका लागि तयार पारेका प्रश्नहरू
१. देशको लागि भ्रष्टाचार एउटा महारोग बनेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने कठोर र साहसिक काम सुरु गरेको छ । यो काममा राम्रो पक्ष र कमी कमजोरी के देख्नुभएको छ ? अब कसरी काम गर्दा राम्रो होला ?
२. हाम्रो सरकारले रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, संस्कृति, हवाइजहाज (उड्डयन) सडक, जलविद्युत् लगायत महत्त्वपूर्ण विषयमा के–के काम गर्नुपर्ला ? कसरी गर्नुपर्ला ? हाम्रो कमजोरी के–के देख्नुभएको छ ?
३. नेपालका राजनीतिक दलहरु, त्यसमा पनि माओवादी केन्द्रको राजनीतिक भूमिकामा भएको बलियो पक्ष र कमजोरीहरु के–के देख्नुभएको छ ? के कसरी सच्याउनुपर्छ ? के–के कुरा सच्याउनुपर्छ ?