समाचार

आजदेखि एमाले लुम्बिनी प्रदेश अधिवेशन सुरु

१६ भाद्र २०८०, शनिबार ०३:३७
आजदेखि एमाले लुम्बिनी प्रदेश अधिवेशन सुरु

१६ भदौ, बुटवल । नेकपा (एमाले)को लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आह देखि सुरु भएको छ । भदौ १६ र १७ गते बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशन हुने भएको छ ।

आयोजक एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अधिवेशनको तयारी पूरा भएको र लुम्बिनीको अधिवेशनले देशलाई नयाँ सन्देश दिने बताएको छ ।

अधिवेशन उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरु शनिबार बुटवल आउँदै छन् । अधिवेशन साढे १२ बजे उद्घाटन गर्ने तयारी गरिएको छ ।

उद्घाटन सत्र बुटवलको रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको बाहिरी भागमा गर्ने तयारी छ । तर शुक्रबार रातिदेखि बुटवलमा अविरल वर्षा भइरहेको छ । त्यसले खुल्ला सत्र प्रभावित हुन सक्ने एमाले नेताहरुले जनाएका छन् । धेरै जिल्लाबाट प्रतिनिधि र लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने अधिकांश केन्द्रीय तहका नेताहरु भने शुक्रबार नै बुटवलमा आइसकेका छन् ।

उद्घाटनमा पार्टीका उपाध्यक्षद्वय युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेश इन्चार्ज पद्मा अर्यालका साथै पोलिटब्युरो सदस्यहरू, लुम्बिनी  प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।

सम्मेलन उद्घाटन पहिले  बिहान १० बजेदेखि बुटवलका १९ वटै वडा, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहाबाट जुलुस तथा झाँकीसहित सम्मेलन स्थलमा प्रवेश गर्नेछन् ।

तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कँडेलले एमालेले वर्ष २०८० लाई आफ्नो पार्टीको अधिवेशन वर्षका रूपमा घोषणा गरी अघि बढेको बताए ।

सम्मेलनको तयारीको सन्दर्भमा गठित मूल आयोजक कमिटीसहित, प्रतिवेदन लेखन, खाद्य तथा आवास, प्रचार प्रसार, मञ्च तथा स्वयंसेवक, अतिथि सत्कार, प्रतिनिधि व्यवस्थापन, प्राथमिक स्वास्थ्य, जनपरिचालन जस्ता समितिले यो सम्मेलन सफल बनाउन गर्नुपर्ने सम्पूर्ण काम सम्पादन गरिसकेका जनाएको छ ।

पार्टीभित्र स्वस्थ प्रतिस्पर्धालाई निषेध नगरिएको पोलिटब्युरो सदस्य सूर्य थापाले स्पष्ट परेका छन् । उनले अन्तिम समयमा सर्वसहमत नेतृत्व आउने विश्वास व्यक्त गरेका छन् ।

सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै एक सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट एक सय ३१, बांकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट एक सय ११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसङ्गठनबाट ८३ गरी जम्मा एक हजार चार प्रतिनिधि छनोट भएका एमाले प्रचारप्रसार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्