आव २०७७÷७८ मा कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा दुई सय ५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा पाँच सय ९२ बिरुवा रोपिएका थिए । कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामशरण कुर्मीले गुर्जामा जिल्लामै पहिलोपटक स्याउखेतीको परीक्षण सफल भएको बताए ।
“हावापानी, वातावरण र अनुकुल भूगोल भएकाले गत वर्षदेखि गुर्जामा उच्च घनत्वको स्याउखेती थालिएको थियो”, उनले भने, “छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने उच्च घनत्वको स्याउखेती विस्तारको सम्भावना बढेको छ ।”
यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिए पनि अपेक्षाकृत सफलता हासिल भएको थिएन । “पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छाडेपछि त्यसको साटो छिटोे फल्ने उच्च घनत्वको स्याउ बिरुवा लगाउन थालिएको हो”, वडाध्यक्ष छन्त्यालले भने, “उच्च घनत्वको स्याउखेती विस्तार गरेर गुर्जामा खेर गइरहेको बाँझो जमिनको सदुपयोग गर्न र कृषकको आम्दानी बढाउन जोड दिन्छौँ ।”