खेलकुद

एसिया कप आजदेखि, उद्घाटन खेलमा पाकिस्तानविरूद्ध खेल्दै नेपाल

१३ भाद्र २०८०, बुधबार ०१:४२
एसिया कप आजदेखि, उद्घाटन खेलमा पाकिस्तानविरूद्ध खेल्दै नेपाल

१३ भदौ, काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज एकदिवसीय वरीयताकै शीर्ष स्थानको पाकिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्दै छ ।

नेपालले पहिलो पटक विश्वको नम्बर एक एकदिवसीय टिम पाकिस्तानविरुद्ध खेल्दै छ ।नेपालले यो प्रतियोगिता पहिलो पटक खेल्न लागेको हो । तर, पाकिस्तानले भने दुई पटक एसिया कपको उपाधि जितेको छ । गत अप्रिल–मेमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि उचालेर नेपाल एसिया कपमा छनोट भएको हो ।

क्रिकेटका दुई महारथी भारत र पाकिस्तानसँगै नेपाल समूह ‘ए’मा छ । दुवै एकदिवसीय क्रिकेटका पूर्वविश्वकप विजेता हुन् । रोहित पौडेलको कप्तानीमा नेपाली टोलीले पाकिस्तान र भारतका ख्यातिप्राप्त ब्याट्सम्यान र बलरलाई चुनौती दिने नेपाली क्रिकेटप्रेमीको अपेक्षा छ ।

प्रतियोगिताका लागि नेपाली खेलाडीले डेढ महिनादेखि तयारी गरेका छन् । श्रीलंकाको कोलम्बोमा १५ दिन र पाकिस्तानको कराँचीमा चार दिनको प्रशिक्षण गरेका थिए ।

एकदिवसीय, टी–२० र च्याम्पियन्स ट्रफीका विजेता भइसकेका भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्न पाउनु नेपाली खेलाडीका लागि एक अवसर पनि हो । कप्तान पौडेलले प्रत्येक खेलका हरेक क्षणलाई स्मरणीय बनाउने बताएका छन् । ‘प्रत्येक स्ट्रोक, विकेट र रनको क्षणलाई स्मरणीय बनाउनेछौँ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

पाकिस्तानी टिमको कप्तानी सम्हालिरहेको बाबर आजम एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानका ब्याटर हुन् । नेपालविरुद्धको खेलका लागि पाकिस्तानले आफ्नो ‘प्लेइङ–११’ सार्वजनिक गरिसकेको छ । जसमा बाबरबाहेक इमाम उल हक (तेस्रो) र फकर जमान (पाँचौँ) गरी एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष १० भित्र रहेका दुई ब्याटर छन् । बलिङतर्फ साहिनसाह अफ्रिदी एकदिवसीय बलिङ वरीयताको नवौँ स्थानमा छ ।

नेपालले पहिलोपटक एसिया कप खेल्दैगर्दा पाकिस्तान भने १५ वर्षपछि क्रिकेटको कुनै ठूलो प्रतियोगिताको आयोजक बन्दै छ । यसैकारण सफल आयोजकमा नाम लेखाउने दौडमा रहेको पाकिस्तानका लागि पनि यो खेल निक्कै महत्त्वपूर्ण छ । नेपाल र पाकिस्तानबीचको यो ऐतिहासिक खेल मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुँदै छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तान कप्तान आजमले पनि नेपाललाई सहज रूपमा नलिएको प्रतिक्रिया दिएका थिए ।

“मलाई ठ्याकै मिति थाहा छैन । तर, पछिल्लोपटक मैले नेपालविरुद्ध पाकिस्तानको यू–२३ टिमबाट खेलेको थिएँ । त्यसकारण अहिलेको टिममा धेरैजसो खेलाडी त्यसबेलाकै थिए भन्ने लागेको छ । उनीहरूसँग राम्रा खेलाडीहरू छन् । त्यसकारण हामी कहिल्यै उनीहरू (नेपाल) लाई सहज रूपमा लिँदैनौँ । हामी उनीहरूविरुद्ध बेस्ट क्रिकेट खेल्न चाहन्छौँ,” नेपाली टिमको बारेमा प्रश्न गर्दा पाकिस्तानी कप्तान बाबरले भनेका थिए ।

गत वैशाख १९ गते घरेलु मैदानमै भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान सुनिश्चित गरेको थियो । प्रिमियर कपको उपाधि जितेपछि भारत र पाकिस्तानसँग पहिलोपटक आमनेसामनेको अवसर पाएको नेपाली टिम गत हप्ता नै पाकिस्तानको यात्रामा निस्किएको थियो ।

पाकिस्तानी कप्तान आजमले क्रिकेटमा कुनै पनि टिमलाई कमजोररूपमा लिन नहुने भन्दै नेपालसँगको खेलका लागि पनि अन्य टिमविरुद्ध जसरी नै योजना बनाएको बताए ।

“क्रिकेटमा कुनै पनि टिमलाई सहजरूपमा लिन सकिँदैन । एक क्रिकेटरको रूपमा कसैलाई पनि सहज रूपमा लिनु हुँदैन भन्ने मैले सिकेको छु । विपक्षी जस्तो भए पनि त्यसका लागि पूरा योजना बनाउन पर्दछ, जसरी अन्य टिमविरुद्ध बनाइन्छ । हामीले योजना बनाएका छौँ । उनीहरू (नेपाल) को कुन क्षेत्र बलियो र कुन क्षेत्र कमजोर भन्नेबारे अध्ययन गरेका छौँ र त्यसअनुसारको रणनीति बनाएका छौँ,” बाबर थप्छन् ।

नेपाली टिमले एसिया कपमा स्थान बनाएको यो पहिलोपटक भने होइन । २१ वर्षअघि पनि नेपाल एसिया कपका लागि छनोट भएको थियो, सन् २००१ मा भएको एसीसी ट्रफीको उपविजेताको रूपमा ।

तर, भारत–पाकिस्तानको खिचातानीको कारण नेपालले त्यसबेला अवसरको उपयोग गर्न पाएन । भारत–पाकिस्तानको राजनीतिक विवाद चरम अवस्थामा पुगेपछि सन् २००२ मा आयोजना हुने भनिएको प्रतियोगिता नै रद्द भयो ।

यस संस्करणमा पनि सुरुआती समयमा अवस्था लगभग उस्तै बन्ने देखिन्थो ।  पाकिस्तानमा आयोजना हुने तालिका रहेका कारण भारतीय टिमले सरकारबाट छिमेकी देशको यात्राका लागि अनुमति पाएन ।

पाकिस्तान कसैगरी पनि प्रतियोगिताको आयोजकमा आफ्नो नाम लेखाउन चाहन्थ्यो । क्रिकेट महाशक्तिबीचको  शक्ति संघर्षका कारण अहिलेको संस्करण पनि रद्द हुने संघारमा पुगिसकेको थियो । तर, पाकिस्तान केही लचिलो बन्दै प्रतियोगिताका लागि ‘हाइब्रिड मोडेल’को प्रस्ताव गर्‍यो ।

पाकिस्तान आईसीसी एकदिवसीय वरियतामा शीर्ष स्थानमा छ । त्यस्तै भारत तेस्रो स्थानमा छ भने नेपाल वरियतामा १५ औँ स्थानमा छ ।६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

भदौ ३१ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतबीचको खेल भदौ १८ गते श्रीलंकाको कान्डीमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्