समाचार

एमसीसी आजदेखि कार्यान्वयनमा

१३ भाद्र २०८०, बुधबार ०१:२२
एमसीसी आजदेखि कार्यान्वयनमा

१३ भदौ, काठमाडौं । नेपाल सरकार र अमेरिकी विकास सहयोग मिलेनियिम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को संयुक्त लगानीमा निर्माण गरिने ६९.७ करोड अमेरिकी डलर (९२ अर्ब रुपैयाँ)को पूर्वाधार आयोजना तथा कार्यक्रमको कार्यान्वयन आज (बुधबार)बाट सुरु हुँदै छ ।

आज अर्थ मन्त्रालयमा विशेष कार्यक्रम गरेर एमसीसी कार्यान्वयनमा गएको घोषणा हुनेछ । त्यसको लागि एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल भ्रमणमा आइपुगेका छन् । नेपालसँगको एमसीसी सम्झौताको सुरुआतको अवसर पारेर एमसीसीका सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड  नेपाल भ्रमणमा आएका हुन् ।

क्यामरुनले नेपाल भ्रमणमा रहँदा उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक दलका नेतालाई भेट गर्ने र १५ भदौमा उनी अमेरिका फर्किने कार्यतालिका रहेको छ । एमसिसी औपचारिक सुरुवात भएको पाँच वर्षभित्र परियोजना सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था छ । त्यसरी हेर्दा १२ भदौ २०८५ मा यो परियोजना सम्पन्न भइसक्नुपर्छ । एमसिसी कार्यान्वयनको घोषणा अर्थ मन्त्रालयमा नेपाल र अमेरिकी अधिकारीहरूबिच ‘लेटर अफ एक्सचेन्च’मार्फत हुनेछ ।

प्रतिनिधिसभा (संसद्)ले २०७८ फागुन १५ गते नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता बहुमतले अनुमोदन गरेको थियो । सोही सम्झौताअनुसार पूर्वाधार विकास आयोजनाको औपचारिक कार्यान्वयन मंगलबारबाट सुरु गर्न लागिएको हो ।

संसद्ले अनुमोदन गरेदेखि २०८० भदौ १२ गतेसम्म पूर्वतयारीको चरणमा रहेको एमसीसी अन्तर्गतका कार्यक्रम मंगलबारबाट कार्यान्वयनको चरणमा प्रवेश गर्नेछन् ।

सम्झौताअनुसार आयोजना निर्माणको कार्य औपचारिक रूपमा कार्यान्वयनमा आएको दिनदेखि पाँच वर्षभित्र सबै काम सम्पन्न गर्नुपर्ने हुन्छ । अर्थात् एमसीसीको पाँचवर्षे अवधिको गन्ती बुधबारबाट सुरु हुनेछ । एमसीए–नेपाल र एमसीसीले आयोजनाहरू सञ्चालन गर्नेछन् ।

पूरा भएका पूर्वसर्तहरूमा विद्युत् प्रसारण लाइन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको, विद्युत् नियमन आयोग ऐन लागू गरी आयोग गठन भएको, कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको, नेपालको बुटवलदेखि भारतको गोरखपुरसम्म अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि भारत सरकारसँगको सहमतिमा योजना तर्जुमा भएको र संसद्बाट कम्प्याक्टको अनुमोदन भएको छ ।

सम्झौता कार्यान्वयनमा जानुअघि नेपाल सरकारले लगानी बढाएको छ । नेपाल सरकार र एमसिसीबिच गत जेठ १४ गते आदानप्रदान गरिएको कार्यान्वयन पत्र अनुसार नेपाल सरकारले एमसिसी कम्प्याक्टमा आफ्नो लगानी ६.७० करोड अमेरिकी डलर थपेको हो ।

सुरुवाती सम्झौतामा एमसिसीका तर्फबाट ५० करोड डलर अनुदान र नेपाल सरकारले १३ करोड डलर लगानी गर्ने सहमति भएको थियो । सरकारकातर्फबाट थप गरिएको लगानी एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत विद्युत् प्रसारण आयोजनाका लागि उपयोग गरिने कार्यकारी निर्देशक विष्टले बताए ।

विद्युत् प्रसारण आयोजना अन्तर्गत तीनवटा नयाँ ४०० केभी क्षमताको इण्डोर ग्यास इन्सुलेटेड सब–स्टेशन निर्माण गरिनेछ । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा रातमाटे सब–स्टेशन, तनहुँ जिल्लामा नयाँ दमौली सब–स्टेशन र नवलपरासी पश्चिम जिल्लाको भुमहीमा नयाँ बुटवल सब–स्टेशन निर्माण गरिनेछ ।

निर्माणाधीन प्रसारण लाइन काठमाडौं जिल्लाको लप्सीफेदी र मकवानपुर जिल्लाको नयाँ हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणका विद्यमान सब–स्टेशनहरूमा पनि जोडिनेछ ।

आयोजना अन्तर्गत ५ करोड ४९ लाख अमेरिकी डलरको लगानीमा सडक मर्मत आयोजना सञ्चालन गरिनेछ ।  एमसीए–नेपालका अनुसार यसको उद्देश्य सडक विभागको क्षमता अभिवृद्धिका लागि प्राविधिक सहयोग, बढीमा १३० किलोमिटर रणनैतिक सडक सञ्जालको मर्मत सम्भार र नेपालको रणनैतिक सडक सञ्जालको गुणस्तरमा सुधार गर्नु रहेको छ ।

“यस आयोजना अन्तर्गत उपलब्ध गराइने प्राविधिक सहयोगले सडक मर्मत तथा सम्भारसम्बन्धी योजना तर्जुमा, मूल्यांकन तथा नियमित एवम् आवधिक मर्मतसम्भार कार्य कार्यान्वयनसम्बन्धी सडक विभाग तथा सडक बोर्ड नेपालको क्षमता अभिवृद्धि गर्नेछ,” एमसीए नेपालले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्