११ भदौ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को पर्यटन समितिको उपसभापतिमा अच्युत गुरागाईं मनोनित भएका छन्।
आइतबार बसेको एफएनसीसीआईको पर्यटन तथा हवाई यातायात समिति बैठकमा महासंघका अध्यक्ष चन्द्र ढकालले गुरागाईंलाई उपसभापतिमा मनोनित भएको पत्र हस्तान्तरण गरेका हुन् ।
समितिको सभापति देशबन्धु बस्नेत (अजित) छन् । आइतवार दिउँसो बसेको पर्यटन समितिको बैठकमा अध्यक्ष ढकालले नेपालको पर्यटनलाई चलायमान बनाउन र देशैभर रहेका पर्यटन व्यवसायीको हितमा समितिले काम गर्नेमा आफु विश्वस्त रहेको बताए ।
बैठकमा गुरागाईंले आफूले तीन दशकको अनुभव अब पर्यटन समितिलाई जिम्मेवार बनाएर काम गर्ने बताए । उनले बैठकमा पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिलाउन पहल गर्ने, पर्यटन ऐन जारी गराउन सरकारलाई निर्णायक दबाब दिन सबै व्यवसायीको साझा आवाज लिएर सरकारको ध्यानाकर्षण गराउने पनि बताए ।
पर्यटन क्षेत्रका सबै संस्था र व्यवसायीको हितका लागि आफू निरन्तर लाग्ने र अब पर्यटन समितिमार्फत नै सबै पर्यटन व्यवसायीको एजेन्डा लिएर सरकारसँग मिलेर काम गर्ने र थप कार्यक्रम ल्याउन पहल गर्ने पनि उनले बताए ।
साथै उनले सातै प्रदेशमा पर्यटनको समानुपातिक विकास र वितरणको लागि पर्यटनसम्बद्ध संघ संस्था तथा व्यवसायीहरुको हितका लागि एफएनसीसीआईको नेतृत्वमार्फत सिर्जनात्मक काम गर्ने बताए ।