समाचार

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर १२ भदौमा

८ भाद्र २०८०, शुक्रबार ०१:०९
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर १२ भदौमा

८ भदौ,काठमाडौँ । प्रतिनिधिसभामा भदौ १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम १२ भदौको बैठकमा हुने गरी निर्धारण गरेको जानकारी गराएका हुन् ।

करिब एक महिनाको अवरोधपछि तेस्रो पटक प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सभामा दुई पटक प्रत्यक्ष प्रश्नोत्तर भइसकेको छ। मन्त्रीहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर भने हुन सकेको छैन।

‘प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम भदौ १२ गतेको बैठकमा हुने गरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछु,’ सभामुख घिमिरेले भने।

सांसदले लिखित प्रश्न संघीय संसद सचिवालयमा बुझाउनुपर्छ। सांसदले भदौ ८ गते शुक्रबार अपराह्न ३ बजेभित्र प्रतिनिधि सभा सचिवसमक्ष लिखित रूपमा प्रश्न उपलब्ध गराउनुपर्ने सभामुख घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस्