७ भदौ, काठमाडौँ । नेपाल भ्रमणमा रहेका जापानको माथिल्लो सदनका सांसदहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई शिष्टाचार भेट गरेका छन्।
बिहीबार शीतल निवास पुगेर उनीहरुले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बिहीबार राष्ट्रपति पौडेलसँग जापानी माथिल्लो सदनका सदस्यहरुसहितको भ्रमण टोलीले भेटवार्ता गरेको जानकारी दिइन् । उनकाअनुसार जापानका सांसद कोबायसी काजुहिरो र नागल मान्बुसहितको टोलीले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
उक्त भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवम् मैत्रीपूर्ण सम्बन्ध रहेको विषयमा जोड दिँदै नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिएको बताइएको छ।