समाचार

स्कुल बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

७ भाद्र २०८०, बिहीबार ११:३९
स्कुल बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

७ भदौ, जनकपुरधाम । जनकपुर जलेश्वर सडक खण्डमा विद्यार्थी सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको विरोधमा स्थानीय बासिन्दाले सडक बन्द गराएकाछन् ।

जनकपुरको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) क्याम्पसबाट विद्यार्थी बोकेर जलेश्वर आउँदै गरेको बा २ ख १५३६ नं को बसले जलेश्वर नगरपालिका– ९ स्थित परिकौली चौकमा ज ८ प ९२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जलेश्वर नगरपालका– ९ परिकौलीका ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

लोक सेवा आयोग जलेश्वरमा कार्यालय सहयोगी भई काम गर्दै आएका यादव कार्यालयको कामले जनकपुर जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीको भनाइ छ। बसको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पुर्‍याएको थियो। अस्पताल पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

उनको मृत्युपछि स्थानीय बासिन्दाले बस चालकलाई पक्राउ गरी कारबाही अघि बढाउन र मृतक मोटरसाइकल चालकको परिवारलाई राहत दिन माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्