७ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका आठ नेताले वक्तव्य जारी गर्दै भ्रष्टाचार काण्डमा अनुसन्धानरत प्रहरीको सरुवाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
त्यस्तो कदमले नागरिक तहमै प्रश्न उठेको उनीहरुको भनाइ छ। चर्चित नक्कली शरणार्थी प्रकरण, बालुवाटार ललिता निवास सरकारी जग्गा अनियमितता प्रकरण र पछिल्लो समय सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीलाई सरुवा गरिनुले निष्पक्ष छानबिनमाथि गम्भीर प्रश्न उठेको उनीहरुले दाबी गरेका हुन्।
कांग्रेस विधिको शासन स्थापनाका लागि लड्दै आएको उनीहरुले नेतृत्वलाई भनेका छन्। ‘सरकारमा हुँदा विधिको शासन चलाउने अभ्यासमा आफूलाई अब्बल सावित गर्नुपर्छ भने पार्टी चलाउँदा पनि विधि र पद्धतीको पूर्ण पालना गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ। उनीहरूले कांग्रेसका भ्रातृ संस्था नेपाल तरुण दल र नेविसंघलगायतमा विधानविपरीत जम्बो केन्द्रीय समिति बनाइएकामा पनि विरोध गरेका छन्।
विज्ञप्तिमा कांग्रेस ८ दशकदेखि विधिको शासन स्थापनाका लागि जोखिमपूर्ण लडाइँ लड्दै आएको नेपालको पुरानो प्रजातान्त्रिक राजनीतिक दल भएको भन्दै सरकारमा हुँदा विधिको शासन चलाउने अभ्यासमा आफूलाई अब्बल साबित गर्नु पर्ने भनिएको छ।
गुरुराज घिमिरे- कोशी प्रदेश, रञ्जित कर्ण- मधेस प्रदेश, मधु आचार्य- बागमती प्रदेश, देवराज चालिसे- गण्डकी प्रदेश, गोबिन्दराज पोख्रेल- लुम्बिनी प्रदेश, भूपेन्द्रजङ्ग शाही- कर्णाली प्रदेश, भरतबहादुर खड्का- सुदूरपश्चिम प्रदेश र सुवास लोहनी- डायस्पोराले विज्ञप्ति जारी गरेका हुन्।