समाचार

बालबालिकालाई ४ पुसदेखि मोडेर्ना खोप

२४ मंसिर २०७८, शुक्रबार ०२:१७
बालबालिकालाई ४ पुसदेखि मोडेर्ना खोप

२४ मंसिर, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई ४ पुसदेखि कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिइनेछ । हिमाली जिल्लासहित ५७ जिल्लाका विद्यालयमै खोप केन्द्र तोकेर बालबालिकालाई खोप दिइने विभागले जानकारी दिएको छ ।

यसअघि फाइजर खोप अभियान सञ्चालन भएका जिल्लाका बालबालिकालाई भने फाइजर खोप दिइनेछ । स्वास्थ्य सेवा विभागका खोप शाखाका प्रमुख सागर दाहालका अनुसार करिब १८ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने लक्ष्य राखिएको छ ।

विभागका अनुसार ‘हिमाली जिल्लाको हकमा १ सयभन्दा बढी र अन्य जिल्लाको हकमा २ सयभन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड बनाइको छ । सोही मापदण्डअनुसार खोप केन्द्र निर्धारण गरेर बालबालिकालाई मोडेर्ना खोप दिइने जनाइएको छ । यो अभियान पुस १४ गतेमा सञ्चालन हुनेछ ।

यसअघि फाइजर खोपका लागि तोकिएका २४ वटा विशेषज्ञ अस्पताल रहेका जिल्लाका बालबालिकालाई फाइजर खोप दिइने जनाइएको छ । जसअनुसार यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, सिन्धुली, चितवन, काभ्रे, कास्की, बागलुङ, रूपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराका गरी २४ वटा विशेषज्ञ अस्पतालबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप दिइएको थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्