१० मंसिर,काठमाडौँ ।नेपाल–संयुक्त अधिराज्यबीच मैत्रीसन्धि भएको एक सय वर्षका अवसरमा आज हनुमानढोका दरबारमा विशेष कार्यक्रम आयोजना गरियो ।
परराष्ट्र मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सन्धिका महत्वपूर्ण पक्षबारे मन्तव्य व्यक्त गर्दै त्यसले नेपाल संयुक्त अधिकाज्य सम्बन्ध सुदृढीकरणमा ठूलो योगदान गरेको बताए ।
नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेन सन्धिको महत्व तथा बेलायत–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गरेका थिए । प्राध्यापक त्रिरत्न मानन्धरले नेपाल–संयुक्त अधिराज्य सम्बन्धका साथै त्यसलाई वर्तमान अवस्थामा पुर्याउन मैत्रीसन्धिले गरेको योगदानको चर्चा गरेका थिए ।
परराष्ट्र सचिव भरतराज पौड्यालका तर्फबाट मन्त्रालयका सहसचिव तथा युरोप–अमेरिका महाशाखाका प्रमुख गणेश ढकालले दुईदेशीय सम्बन्धबारे मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा दुई देशबीचको सम्बन्ध तथा सय वर्षअघि भएको उक्त सन्धिका असाधारण तस्बिर पनि प्रदर्शन गरिएको थियो । साथै नेपाली सेनाले साङ्गीतिक प्रस्तुति पनि पेस गरेको थियो ।